भक्तपुरमा मेलम्चीको पानी वितरण

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १२, २०७९      0

जेठ १२– भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गराए।

केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरका बासिन्दालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकामा गौरवान्वित महसुस भएको बताउँदै यसले भक्तपुरमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे।

मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका छन्। विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख प्रजापतिलाई धन्यवादसमेत दिएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *