विदेशी सफ्टवेयरबाट नेपाली डेटा सुरक्षित छैनन् : चिरञ्जीवी अधिकारी

 ग्लोबल टिभि      बुधबार, साउन २५, २०७९      0

साउन २५–कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को इनोभेसन फेडेरेसनका सचिव चिरञ्जीवी अधिकारीले विदेशी सफ्टवेयरबाट नेपाली डेटा सुरक्षित नरहेको बताएका छन् । नेपाल जस्तो देशले विदेशबाटै निर्मित हार्डवेयरका साथसाथै सफ्टवेयर समेत प्रयोग गर्दा सामाजिकसँगै वित्तीय चुनौतीको सामना गर्नु परिरहेको उनले बताए ।

‘अहिले हामीले अधिकांश त्यो पनि अत्यन्त संवेदनशील भनिएका सफ्टवेयरहरू समेत विदेशी प्रयोग गरिरहेका छौं । बैंकहरुको आईटी सफ्टवेयरहरू प्रायः सबै विदेशी प्रयोग भइरहेका छन् । कुनै समस्या आयो कि त भारतबाट कि त अन्य मुलुकहरूबाट समाधान गर्नु परिरहेको छ । तर, हामी यसको संवेदनशीलताको विषयमा सोचेका छैनौं’ अधिकारीले भने, ‘भोलि डेटा वा कारोबार नै तलमाथि भयो भने को जिम्मेवार हुने ?’

यस्तो सफ्टवेयरहरू अब नेपालीहरुले बनाउनुपर्ने र राज्यले पनि स्वदेशी सफ्टवेयरहरूलाई प्राथमिकता दिनुपर्ने उनले बताए । ‘अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ । धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन् । एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पठाउँछन् । यसबाहेक कागजात व्यवस्थापन होस् या कार्डहरूको सफ्टवेयरका लागि छुट्टै पैसा खर्च हुने गरेको छ । हामीसँग भएका श्रोत, साधन र जनशक्तिका विषयमा मात्रै ध्यान दिने हो भने पनि निकै ठूलो धनराशी बाहिर जानबाट जोगाउन सक्नेछौँ । नेपाल बनाउनका लागि नेपालमै वस्तुहरु बनाउनुपर्छ । त्यसका लागि नेपाली आईटी क्षेत्र समेत तयार भइसकेको छ’ अधिकारीले भने, ‘अब नेपाली सफ्टवेयरलाई नै प्रयोगमा ल्याउनुपर्छ ।’

स्वदेशी सफ्टवेयर कम्पनीहरुलाई प्रोत्साहन गर्ने हो भने रोजगारीको समस्या समाधान धेरैे मात्रामा हल हुने समेत अधिकारीले बताए । हाल क्यान फेडेरेसनका सचिव रहेका अधिकारी आगामी नेतृत्वका लागि अध्यक्षका प्रत्यासी हुन् । अधिकारीले भावी अध्यक्षका लागि उम्मेदवारी समेत घोषणा गरिसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *