कांग्रेसका ३ मन्त्रीलाई मधेश सरकारबाट बर्खास्त

 ग्लोबल टिभि      शुक्रबार, अशोज २८, २०७९      0

असोज २८ –मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।

३ मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् । ती मन्त्रालयहरुको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन ।

मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *