सुन्दरी प्रतियोगिताका नाममा जबर्जस्ती करणी: मनोज पाण्डेलाई साढे ७ वर्ष कैद ठहर

 ग्लोबल टिभि      मङ्लबार, माघ २४, २०७९      0

माघ २४ –  काठमाडौं जिल्ला अदालतले बाल यौन दुरूपयोग र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मनोजकुमार पाण्डेलाई दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गर्दै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सात वर्ष कैद सजाय तोक्दै पीडितलाई १ लाख ३० हजार रूपैयाँ जरिवाना तिराउने फैसला गरेको हो। मानव बेचबिखन मुद्दामा सात वर्ष बाल यौन दुरूपयोग मुद्दामा ६ महिना कैद गरी साढे सात वर्ष कैद ठहर भएको छ। बाल यौन दुरूपयोगमा जरिवाना र क्षतिपूर्ति गरी ५५ हजार र मानव बेचबिखनमा ७५ हजार गरी १ लाख ३० हजार रूपैयाँ जरिवाना ठहर भएको छ। पाण्डेविरुद्ध माघ १० मा बाल यौन दुरूपयोग मुद्दामा ६ महिना कैद, ५ हजार रूपैयाँ जरिवानासहित पीडितलाई ५० हजार रूपैयाँ क्षर्तिपूर्ति भराउने गरी अदालतले फैसला गरेको थियो। पाण्डेविरुद्ध २०७९ असार १ मा दुईवटा मुद्दा दर्ता भएका थिए। उनीमाथि बालयौन दुरूपयोग गरेको र मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

दर्ता भएको ६ महिनापछि जिल्ला अदालतले पाण्डेलाई दुवै मुद्दामा दोषी ठहर गरेको हो। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले सोमबार सजाय निर्धारणका लागि मुद्दा पेस भएको थियो।

पाण्डेलाई मुलुकी अपराध संहिताको दफा २२५ बमोजिम ‘बाल यौन दुरूपयोग गर्न नहुने’मा मुद्दा चलाइएको थियो। पीडितको मागबमोजिम अदालतले दोषी ठहर गरेको हो। ‘कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बाल यौन दुरूपयोग गरेको मानिनेछ,’ मुलुकी अपराध संहितामा भनिएको छ। त्यसअनुसार कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। पाण्डेलाई कैद र जरिवाना घटाएर फैसला गरिएको छ। लामो समयपछि मात्रै आफूमाथि जबर्जस्तीकरणी भएको सार्वजनिक गरेपछि हदम्यादका कारण मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएको थियो।

मोडलिङमा उज्ज्वल भविष्यको सपना देखेकी एक किशोरीमाथि सुन्दरी प्रतियोगितामा सहभागी बनाउने नाममा आयोजकमध्येका मुख्य व्यक्ति पण्डितले यौन अपराध गरेको सामाजिक सञ्जालमार्फत खुलेको थियो। गत जेठमा पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत सात वर्षअघि आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेकी थिइन्। त्यसै घटनालाई लिएर जबर्जस्तीकरणी मुद्दा दर्ता गर्नुपर्ने आवाज उठेको थियो। जबर्जस्तीकरणीमा हदम्यादका कारण मुद्दा दर्ता गर्न नसक्दा बाल यौन दुरूपयोग र मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दर्ता गरिएको थियो।

२०७१ सालमा १६ वर्षकी रहेकी उनी यौन शोषणका कारण मानसिक रूपमा विक्षिप्त बनेको र आफूमाथिको घटना डर, त्रासका कारण कसैलाई भन्न नसकेको बताएकी थिइन्। उनले अहिले जान्ने भएपछि आफूमाथिको अपराध बाहिर ल्याउन बाध्य भएको बताएकी थिइन्। युवतीले आफू किशोरावस्थामा बलात्कृत भएको घटनाको विषयमा भिडियो पोस्ट गरेपछि मुद्दा दर्ताका लागि दबाब बढेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *