पछिल्लो छ महिनामा डेंगुका विरामीको संख्या बढ्यो: दुई हजार नौ सय ३० जनामा संक्रमण दखियो(भिडियोसहित)

जुनिषा कोइराला

 ग्लोबल टिभि      सोमवार, साउन १, २०८०      0

जुनिषा कोइराला- पछिल्लो समय डेंगु महामारीका रुपमा फैलिएको छ । वर्खाको समयमा फैलिले डेंगुले महामारीको रुप लिन थालेको हो । पछिल्लो छ महिनामा नेपालमा डेंगु संक्रमितको संख्या ३ हजारनजिक पुगेको छ । ६६ जिल्लामा फैलिएको डेंगुबाट सबैभन्दा बढी संक्रमित सुनसरी जिल्लामा रहेको छ । चिकित्सकहरुले प्रकोपको रुप लिनुपूर्व नै आवश्यक तयारी गर्न सुझाव समेत दिएका छन् ।

राजधानीसहित देशका शहरी क्षेत्रको साथै तराईका जिल्लाहरुमा डेंगु संक्रमण महामारीका रुपमा देखिएकोे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो छ महिनामा संक्रमितको संख्या दुई हजार नौ सय ३० पुगेको हो । यो अवधिमा ६६ जिल्लामा फैलिएको डेंगुबाट सबैभन्दा बढी सुनसरीमा एक हजार पाँच सय ७१ जना संक्रमित भएका छन् । धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या एकसय भन्दा माथि पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला गरी एकसय सात जना डेंगु संक्रमित छन् । डेंगी रोग नियन्त्रणका लागि विद्यालय स्तरबाटै स्वास्थ्यसम्बन्धी आवश्यक जनचेतना जगाउनुपर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्ररमण सिंहको भनाई छ ।

डेँगु संक्रमित व्यक्तिहरुमा डेंगु लागे पनि ८० प्रतिशत बिरामीमा लक्षण भने देखिदैन भने १५ ÷२० प्रतिशत बिरामीमा सामान्य लक्षण मात्रै देखिने गर्दछ । गम्भिर डेंगु लागेका २० प्रतिशत विरामीहरुको उपचार गर्दागर्दै २÷३ प्रतिशतको भने मृत्यु हुने तथ्यांक छ ।

२०२२ मा काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो उक्त समयमा डेंगीका कारण ८८ जनाको मृत्यु भएको थियो । डेंगु सुरु भएयताकै यो संख्या सबैभन्दा बढी हो । सन् १७८० मा लामखुट्टेले टोकेर डेंगु ज्वारोको प्रकोप बढदै गएकोले डेंगु रोगको चर्चा सुरु भएपनि १९९८ मा विश्वव्यापी रुपमा फैलिएको थियो । नेपालमा भने सन् २००४ मा पहिलोपटक चितवनमा डेंगु रोगको विरामी भेटिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *