लुम्बिनीमा आँखाको नानी निशुल्क प्रत्यारोपण गरिने

 ग्लोबल टिभि      बिहिबार, साउन ११, २०८०      0

साउन ११ – लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०(८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम लागु गर्ने सात वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश पहिलो हो । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले बताए । कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य मन्त्री खनालको भनाई छ ।

कर्नियाको निशुल्क अप्रेसन गर्ने सहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागी कार्यविधि बनाउने प्रकृया सुरु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आँखाको नानी प्रत्यारोपणका लागी बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विभिन्न कारणले आँखाको ज्योती गुमाउन पुग्नेहरुका लागी यो कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताए ।

यसैगरि लुम्बिनी प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यसै वर्षदेखी सेवा निवृत्त हुँदा सम्मान स्वरुप ५० हजार रुपियाँ दिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा यसका लागी आबश्यक रकम विनियोजन गरेको स्वास्य मन्त्री राजु खनालले बताए ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले यस अघि पाउदै आएको रकममा ५० हजार थप गरि सम्मान पत्र सहित प्रदान गरिने स्वास्थ्य मन्त्री खनालले जानकारी दिए । मातृ तथा बाल मृत्युदर घटाउन तथा स्वास्थ्यका अन्य सूचक प्राप्तीका लागी महत्वपूर्ण जिम्मेवारी बहन गरेर काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्न नगद सहित प्रदेश सरकारले सम्मान पत्र प्रदान गर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा हाल करिब ९ हजार जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् । उनीहरुले काम गर्दा पाउने खाजा भत्ता बाहेक अन्य कुनै पनि रकम पाउने गरेका छैनन् ।

गाउँघरमा घुमेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन महत्वपूर्ण काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाले लामो समयदेखी गरिरहेको कामको सम्मान स्वरुप ६० वर्ष पुगेर सेवा निवृत्त हुँदा पाइरहेको सुविधामा थप ५० हजार रुपियाँ र प्रदेश सरकारका तर्फबाट सम्मान पत्र दिन लागिएको स्वास्थ्य मन्त्री राजु खनालले बताए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षदेखी सिकलसेल एनिमिया भएका बिरामीहरुको निशुल्क बिमा गर्न पनि सुरु गरेको छ । नियमित औषधी सेवन गर्नुपर्ने र त्यसका लागी रकम नभएर पिडामा रहेका बिरामीहरुलाई विमा कार्यक्रमले ठूलो राहत मिल्ने स्वास्थ्य मन्त्री खनालले बताए ।

सिकलसेल एनिमिया भएका बिरामीहरुको उपचारका लागी प्रदेशको बर्दिया जिल्लामा छुट्टै अस्पताल सञ्चालनको तयार पनि गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *