कामचलाउ प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, सरकारमा अब तीन उपप्रधानमन्त्री

ईश्वर पोखरेल हटाइए, राजेन्द्र महतो भित्रिए

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २१, २०७८      0

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री रहेका ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

उनले मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । एमालेका महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका हुन् ।

नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्री बनाइएको छ । नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित आठ मन्त्री र दुई राज्यमन्त्री छन् ।

मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठ भने ओलीको साथैमा रहने भएका छन् ।

हालका लागि गृह र रक्षा प्रधानमन्त्री ओलीसँगै रहने बताइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *