‘काठमाडौंमा ठूलो भूकम्प जाने सम्भावना छ’

 ग्लोबल टिभि      आइतवार, माघ १, २०७९      0

माघ १–  जमिनमा शक्ति सन्चय हुने क्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने सम्भावना बढेको छ । २०७२ सालमा गोरखा भूकम्पका कारण उत्पन्न भएको शक्ति बाहिर नगएर काठमाडौं उपत्यकाको जमिनमुनि आएर अड्किएकाले काठमाडौंमा ठूलो भूकम्प जाने सम्भावना बढेको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीलाई उद्धृत गर्दै आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले यो समाचार तयार पारेकी छिन् ।

समाचारमा लोकविजय अधिकारीले भनेका छन्, “काठमाडौँ उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौँमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो ।”

अधिकारीले भूकम्प जाने भन्न सकिए पनि कहिले जाने भन्ने भन्न नसकिने पनि बताएका छन् ।

नेपालको उत्तरी क्षेत्रको गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्ति पूर्वमा दोलखासम्म आएको केन्द्रको तथ्याङ्क विश्लेषणले बताउँछ । त्यसको असर काठमाडौँमा पनि प(यो तर काठमाडौँदेखि दक्षिणतर्फको करिब ७० किलोमिटर तराई छुने भू–भागभित्र भूकम्पीय शक्ति गोरखा भूकम्पले बाहिर निकाल्न सकेन र त्यसैले अर्को ठूलो भूकम्पको जोखिम बढेको गोरखा भूकम्पपछि भएका धेरै अध्ययन तथा विश्लेषणपत्रले देखाएका छन् ।

विक्रम संवत् १९९० को भूकम्प करिब आठ रेक्टर स्केलको गएको अनुमान छ । त्यसपछि केही महिनासम्म मात्र त्यसका परकम्पन गएका थिए । त्यसबेलामा तराईका भू–भागसम्म असर पर्दा जमिनमुनि जम्मा भएको सबै शक्ति बाहिर निस्किएको अनुमान गरिन्छ ।

काठमाडौँमा सन् १३१०, १३४४, १४०८, १६८१, १८३३ र सन् २०१५ मा भूकम्पका ठूला धक्का महसुस गरिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *