पूर्वसांसद आङ्टावा शेर्पालाई २ दिन हिरासतमा राख्न अनुमति

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २, २०८०      0

जेठ २– नेपाली कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पालाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पाबारे अनुसन्धान गरिरहेको छ ।

आफ्नो संलग्नताबारे प्रहरीले अनुसन्धान थालेपछि शेर्पाले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका थिए । मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । शेर्पालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङ्टावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् ।

आङ्टावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *