बेलायतमा विद्युतीय सवारीप्रति आकर्षण घट्दै

 ग्लोबल टिभि      मङ्लबार, अशोज ९, २०८०      0

असोज ९ –  बेलायती सरकारले नेट शून्य नीति कार्यान्वयन गर्न ढिलाइ गर्दै जाँदा विद्युतीय सवारी (इभी)प्रति आकर्षण घट्दै जान थालेको द टाइम्स पत्रिकाले जनाएको छ । पछिल्लो समय २५ प्रतिशतसम्म प्रयोग भइसकेका विद्युतीय सवारीप्रति रूचि घटेको देखिएको छ । कार डिलरहरूले यसरी कारप्रतिको आकर्षण घट्नुको मुख्य कारण प्रयोग भइसकेका कारहरूप्रति सर्वसाधारणको रूचि स्वाट्टै घट्नु रहेको बताएका छन् ।

पछिल्लो समय रिचार्ज स्टेसनको संख्या नबढेका कारण इभी प्रयोग गर्नेहरूले विकल्पका रूपमा पेट्रोल तथा ग्यासका सवारी किन्ने गरेको देखिएको छ । गत साता बेलायती प्रधानमन्त्री ऋषि सुनकले सन् २०३० सम्म नयाँ पेट्रोल तथा डिजल वाहनहरू प्रतिबन्ध लगाउने कुरामा सहमत हुन सकेनन् । त्यो योजनालाई पाँच वर्ष ढिला गरी २०३५ सम्म सारे । यही नीतिका कारण इभीप्रति बढ्ने आकर्षण घट्न पुगेको हो ।

अटोट्रेडरका प्रमुख रणनीतिज्ञ मार्क पाल्मर प्रयोग गरिसकेका कारहरूको बजार बिस्तारै परिपक्व हुन थालेको बताउँछन् । द टाइम्स पत्रिकासँग कुरा गर्दै उनले भनेका छन्,’ थोरै इभी दर्ताका लागि आएका छन् । दर्ताका लागि आएका इभी पनि आकर्षणको केन्द्र बन्न सकिरहेको छैन । इभीका प्रशंसकहरूले पनि अहिले केही समय पर्ख र हेरको अवस्थामा छन् ।’

अटोट्रेडरका अनुसार एक वर्षअघिसम्म प्रयोग भइसकेका इभी कारको औसत मूल्य ३२,४६३ पाउन्ड रहेको थियो । अहिले २१.४ प्रतिशतले घटेको छ ।

प्रधानमन्त्रीको पेट्रोल कार बिक्री गर्ने समय सीमा सन् २०३५ सम्म बनाउँदा त्यसले इभीलाई पर्ने विज्ञहरूको राय छ । बिएमडब्लु, टेस्ला र मर्सिडिज बेन्जजस्ता इभी कारहरूको मूल्य २४.१ प्रतिशतसम्म घटेको छ । गएको अगस्ट महिनासम्म प्रयोग भइसकेका त्यस्ता कारको दोस्रो बजारमा ५१ हजार ७०४ पाउन्ड थियो भने अहिले घटेर ४० हजार पाउन्डभन्दा कम भएको छ ।

यतिबेला बेलायतीहरूको सोच चाहिँ, हाललाई पेट्रोल कार चलाइहालुँ, १० वर्षपछि इलेक्ट्रिक कारका बारेमा सोचौंला भन्नेहरूको जमात बढेको अटो उद्यमीहरूको धारणा छ । सर्वसाधारणले आफ्नो अन्तिम पेट्रोलियम कार सन् २०२८–२९ सम्म लिन सक्ने देखिएको छ ।

प्रधानमन्त्री सुनकको योजना सार्वजनिक भएसँगै निजी सवारी चालकहरू ११ प्रतिशतले मात्र इभीमा चासो देखाएका छन् । ठूला कर्पोरेट कम्पनीहरूले इभीप्रतिको चासो घटाएका छन् ।

मूलतः इभीको चर्को मूल्य, देशभरि चार्जिङ स्टेसनको अभाव, सरकारले दिँदै आएको घट्दो सहुलियतजस्ता कारणले इभीको बिक्री कम भएको उमेश समानी बताउँछन् । स्वतन्त्र मोटर डिलर्स एसोसिएसन्सका अध्यक्ष समानीले एक हजारभन्दा बढी व्यापारीको प्रतिनिधित्व गर्छन् । उनी भन्छन्, पेट्रोल कारको अवधि बढेपछि धेरैले राहतको सास फेरेका छन् ।

बेलायतमा प्रत्येक ६० सेकेन्डमा एउटा इभी किन्ने गरेको तथ्याङ्क थियो । अहिले भने ठप्प भएको छ । इभीमा कर कट्टाको सुविधा भएकाले सुरूमा व्यापार कम्पनीहरूले धडाधड इभी किनेका थिए । समानी भन्छन्, ‘इभी अझै पनि वयस्क हुन सकिरहेको छैन । मूल्य बढी छ । विस्तारै मूल्य घट्दै आउने विश्वास गर्न सकिन्छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *