क्रसर उद्योगको बिनाअनुमति अवैध कारोबार

 ग्लोबल टिभि      शुक्रबार, असार ३१, २०७९      0

असार ३१-सडक आयोजना निर्माणमा आवश्यक क्रसिङ सामग्री तयार गर्न सञ्चालनमा ल्याइएका क्रसर उद्योगले बिनाअनुमति अवैध कारोबार गरेको छ ।

मध्यपहाडी सडक आयोजनाको ठेक्का लिएको लामा कन्स्ट्रक्सनले कुश्मा नगरपालिका–८ दोबिल्लामा सञ्चालनमा ल्याएको क्रसरले सडकका लागि तोकिएको भन्दा ठूलो परिमाणमा निर्माण सामग्रीको कारोबार गरिसकेको छ । लामा कन्स्ट्रक्सनले करिब ५ वर्षअघि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणको ठेक्का लिएको थियो । सम्झौताबमोजिम काम सकेर मध्यपहाडी सडक आयोजना कार्यालयलाई गत वैशाखमै सडक हस्तान्तरण गरिसकेको छ । तर, कम्पनीले दोबिल्लामा सञ्चालनमा ल्याएको क्रसर भने अझै चालु छ । क्रसर उद्योगले क्रसिङ गरेको सयौं टिपर क्रसिङ गिटी, बालुवा तथा चिप्स अन्य आयोजनालाई निर्बाध बिक्रि गरिरहेको छ । यतिसम्म कि कुश्मा र आसपासमा निर्माण भइरहेका निजी घर निर्माणमा पनि यहींबाट उत्पादित गिटी, बालुवा बिक्री भइरहेको स्थानीय बताउँछन ।

सडक निर्माण थालिएसँगै सञ्चालनमा ल्याइएको उक्त क्रसरले सुरुदेखि नै निरन्तर जिल्लाका अन्य आयोजनालाई समेत निर्माण सामग्री बिक्री गर्दै आएको छ । ‘हामीले यहाँ धूलोले बसिसाध्य भएन भनेर धेरैपटक गुनासो ग¥यौं,’ एक स्थानीयले भने, ‘जग्गावालाले भाडामा दिइसकेपछि उनीहरूकै चल्दोरहेछ । हामीले जति कराए पनि सुनिदिने कोही भएन ।’ क्रसर उद्योग सञ्चालन हुँदा धुलोले आसपासको बस्तीका घरमा लगाएको रङ र खेतीबालीको हरियाली नै धुलोमय बनेको स्थानीयको गुनासो छ । सडकका लागि आवश्यक पर्ने क्रसिङ सामग्री तयार गर्न सञ्चालनमा ल्याइएका यस्ता क्रसर उद्योगले मापदण्डविपरीत चट्टान फुटाउने र सडकछेउको मापदण्डभन्दा धेरै परसम्म डाँडामा ब्रेकर लगाएर ढुङ्गा तथा रोडा निकालेका छन् । जसका कारण सामान्य वर्षा हुनासाथ पहिरो र लेदो बगेर सडक अवरुद्ध हुने गरेको छ । क्रसरकै लागि कच्चा सामग्री निकाल्न सडक मापदण्डभन्दा बढी भीरपहरो फुटाएका कारण गतवर्ष मनसुनमा पर्वत खण्डमा धेरै क्षति पुगेको थियो ।

नियामक निकाय भने सडकको काम सकेर आयोजना कार्यालयलाई हस्तान्तरण गरिसकेपछि पनि निर्बाध रूपमा क्रसर सञ्चालन गर्ने व्यवसायीलाई कारबाही गर्न आलटाल गरिरहेको छ । स्थानीय प्रशासन, प्रहरी र आयोजना कार्यालयका जिम्मेवार पदाधिकारी नै क्रसर उद्योगको पक्षमा उभिएका छन । ‘उसले सडक हस्तान्तरण गरे पनि एक वर्ष मर्मतको समय हुन्छ,’ मध्यपहाडी आयोजनाको कुश्मास्थित कार्यालयका आयोजना प्रमुख नारायणदत्त भण्डारीले भने, ‘आउँदो वैशाखसम्म त्यो उद्योग राख्न पाउँछ ।’ उद्योगले निर्माण सामग्री बाहिर बिक्री गरेको भन्ने हल्ला मात्रै भएको उनले दाबीसमेत गरे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले अवैध बिक्री गरेको सम्बन्धमा कुनै उजुरी नआएको बताए । ‘सडक आयोजनाका नाममा खुलेका क्रसरले अन्यत्र बेचेको पाइए कारबाही हुन्छ,’ उनले भने, ‘त्यसरी अवैध बेचेको भन्ने पुष्टि हुन आए हामी कारबाही गर्छौं ।’ त्यसमा आयोजना कार्यालय जिम्मेवार रहने उनको भनाइ छ । उक्त क्रसर कुनै निकायमा दर्ता भएको देखिँदैन । दर्ता भएका क्रसर व्यवसायीले समेत नदी, सडक, बस्ती र सामुदायिक वनदेखि कम्तीमा पाँच सय मिटर टाढा मात्रै व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था छ । तर, उक्त क्रसर भने मोदीखोलाको किनारैमा छ । क्रसर आसपासमै बस्ती मात्रै होइन दोबिल्ला फलेबास सडकसँगै जोडिएको छ । जसका कारण उद्योगमा आउजाउ गर्ने अत्यधिक भारका ट्रिपर र एक्स्काभेटरका कारण सडकको कालोपत्रे उक्किएर हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *