प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन खाका साताभित्र

 ग्लोबल टिभि      बिहिबार, पुस २१, २०७९      0

पुस २१ – प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको सुशासनसम्बन्धी निर्देशन कार्यान्वयनका लागि सचिवहरूले आफ्नो मन्त्रालयको खाका तयार गरेर साताभित्र पेस गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री दाहालले मंगलबार दिएको ३० बुँदे निर्देशन कार्यान्वयनका लागि कसले, कसरी, कहिले र के काम गर्ने प्रस्ट मार्गनिर्देशनसहितको खाका बनाएर सबै मन्त्रालय र विभागीय प्रमुखले प्रधानमन्त्री कार्यालयमा पेस गर्नुपर्ने भएको हो ।

मुख्यसचिव शंकरदास बैरागीको संयोजनमा बुधबार सिंहदरबारमा बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले साताभित्र निर्देशन कार्यान्वयनको खाका तयार गरेर पेस गर्नुपर्ने निर्णय भएको बताए । उनका अनुसार यस्तो कार्ययोजना सबै मन्त्रालय, विभागीय प्रमुखहरूले बनाउनुपर्नेछ ।

योजना बनाउने मात्र होइन यसको कार्यान्वयन कसरी गर्न सकिन्छ त्यसको खाका प्रस्ट हुनुपर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए । दाहालले जनताको समस्या एक महिनाभित्र समाधान नभए सचिव र विभागीय प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री दाहालले निर्देशनमा ‘दैनिक सेवा प्रबाहमा जनताले फेरि सास्ती बेहोर्नुपरे कर्मचारीलाई विभागीय कारबाही हुने’ चेतावनी दिएका छन् । उनले राहदानी, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्र, सरकारी अस्पतालमा बिरामीको उपचार, शिक्षा मन्त्रालयले दिने ‘नो अब्जेक्सन सर्टिफिकेट’, मालपोत, नापी, कर बुझाउने ठाउँमा सेवाग्राहीले सास्ती बेहोरेको प्रसंग जोड्दै सरकार गठनको एक महिनाभित्र यी समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *