सन्दीपले युवतीसँगै बसेको स्विकारे, बलात्कार स्विकारेनन्

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0

कात्तिक १ –सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् ।

तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले स्वीकारेका छन् ।

प्रहरीले नगरकोटमा बसेको भनिएको भ्याली भ्यू रिसोर्ट र पिंगलास्थानस्थित होटल काठमाडौं इनको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैं भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् ।

उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जोहरवालाले नै होटलमा बसौं भनेको उल्लेख गरेका छन् । ‘उनले नै होटलमा बसौं भनेपछि बसेको हो, नत्र त्यहाँ बस्ने नियत थिएन’, लामिछानेले भनेका छन्, ‘छुट्टाछुट्टै कोठा बुक गर्न खोजे पनि त्यसदिन खाली नभएपछि कोठा नम्बर ३०५ मा नै बस्नुपरेको थियो ।’

अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसी टीभी फुटेजमा पनि लामिछाने र ती किशोरी राति ११ः५५ तिर कोठामा गएको देखिएको एक अधिकृतले बताए । पीडितले २१ भदौमा दिएको जाहेरी अनुसार त्यही राति लामिछानेले उनलाई पटकपटक जबरजस्ती करणी गरेका थिए ।

पीडितले जाहेरी दिएलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको थियो । उनले भनेको स्थानमा दुवैजना गएको प्रमाण फेला परेपछि प्रहरीले जाहेरी दर्ता गराएर अनुसन्धान थालेको थियो ।

लामिछाने २० असोजमा काठमाडौं आएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई पक्राउ गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *