‘नयाँको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक’

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ २५, २०८०      0

जेठ २५ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँको नामबाट सुरु भएका राजनीतिक दलहरू यथास्थितिवादलाई पोषण गर्नेबाहेक अन्य ठोस आधार र धरातल नभएको बताएका छन्। महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रुपमा कहिलेकाहीँ पपुलिष्टहरू राजनीतिमा आउने गरे पनि समाज परिवर्तनको आकांक्षाहरूलाई सम्बोधन गर्न र समाजका समस्याहरूलाई समाधान गर्न नसक्ने दाबी गरे।

उनले भने, ‘नयाँ भनिने पार्टीहरू न त विचारधारात्मक जगमा खडा भएका छन्। न त उनीहरूको समस्या समाधान गर्नका लागि व्यवस्थित कुनै सोचहरू रहेका छन्। न त उनीहरू समाजलाई नीतिगत रुपमा नेतृत्व गर्नका लागि निश्चित लक्ष्य र उद्देश्य तय गरी अगाडी बढ्न खोजिरहेका छन्। विशुद्ध रुपमा उनीहरू नयाँ र पुरानोको भाष्य खडा गरिकन हामी त नयाँ हौँ भन्ने अर्थमा आफूलाई प्रश्तुत गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस गरिरहेका छन्।’

उनले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशाहरू विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताए। उनले राजनीतिक दलहरूले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुवीकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरू उत्पन्न नहुने बताए।

राजनीतिक दलहरूले नीतिगत र वैचारिक रुपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामको रुपमा अहिले पपुलिष्टहरू राजनीतिको विकल्पको रुपमा आएको बताए।

पपुलिष्टहरूले कहिल्यै पनि समाजका समस्याहरूलाई समाधान गर्न नसक्ने उनको दाबी छ। नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसाबबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए।

उनले भने, ‘पछिल्लो समय जनतामा जुन प्रकारका असन्तुष्टि र निराशाहरू देखा परेका छन्, त्यसमा स्वभाविक रुपमा हामीले विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणामका रुपमा रहेका छन्। राजनीतिक दलहरूले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुवीकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरू उत्पन्न हुनसक्ने थिएनन्।’

महासचिव पोखरेलले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्ने बताए। उनले राजनीतिक क्रान्तिका समयमा सबै दलहरू मिलेर अघि बढे जसरी नै समृद्धिका लागि, विकासका लागि राजनीतिक दलहरू एक हुन जरुरी रहेको बताए।

उनले साना पार्टीहरूले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रुपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीति बिहीनतातिर लैजाने गरेको आरोप लगाए।

उनले यस्ता गतिविधिलाई अन्त्य गर्न एक्लाएक्लै चुनाव लड्न जरुरी रहेको उल्लेख गरे। राजनीतिलाई विकृत बनाउन साना दलहरूले खेलिरहेको भूमिकाबाट राजनीतिलाई जोगाउन कांग्रेस नेतृत्व तयार नहुँदा अहिलेको राष्ट्रको समस्या समाधान गर्न नसक्ने संसद् निर्माण भएको उनको बुझाइ छ।

निर्वाचनलाई राजनीतिक परिवर्तनको रुपमा प्रयोग गर्न नसकिएको प्रति उनले दुःखेसो गरे। उनले समाजको आवश्यक्ता समयमा बुझ्न नसक्दा अहिले पपुलिस्टहरूको राजनीति उदाएको नेता पोखरेलले टिप्पणी गरे। उत्पादन सम्बन्धमा परिवर्तन भए पनि समाजलाई दिशा दिने विषयमा राजनीति असफल भइरहेको उनको बुझाइ छ।

महासचिव पोखरेलले व्यापारिक पुँजिवादमा आश्रित बन्न पुगेको नपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सक्नुपर्ने बताए। उनले नपालको अर्थतन्त्रलाई स्वाधिन अर्थतन्त्रमा बदल्नसके मात्रै नेपालको राजनीतिक प्रणाली बलियो हुने आधार बन्ने बताए।

स्वस्थ नागरिक निर्माण, स्वास्थ्य पूर्वाधारको उपलब्धता, नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभुति पाउनुपर्ने बताए। उनले शारीरिक र मानसिक रुपमा सबल नागरिकहरूको निर्माण गर्नेकुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *