कमलामाई मन्दिर उत्पत्तिस्थलको पर्यटन प्रवद्र्धनमा नगरपालीकाले दियो जोड

 ग्लोबल टिभि      बुधबार, मंसिर २१, २०७९      0

मंसिर २१ –कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता कमलामाई नगरपालिकाले दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको हो ।

गौमती र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो ।

बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे कतिपय बेखबर छन् । यहाँ पनि मन्दिर बनाइएको छ । प्राकृतिक देवीदेवताहरूको शिला छन् ।

कमलामाई देवीले पानी पोखेको ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ । मन्दिर क्षेत्र पहाडले घेरिएको छ । चुरे क्षेत्रको सबैभन्दा अग्लो ठूलडाँडा यहीस्थल नजिक छ । ऐ्तिहासिक, धार्मिक, प्राकृतिक सुन्दरता मनोरम र रमणीय छ ।

ऐतिहासिक धार्मिकस्थलको संरक्षणमात्र होइन विकास र प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए ।

“यस वर्ष प्रदेश सरकारको २५ लाखमा नगरबाट पैसा थपेर खानेपानी र सिँचाइको व्यवस्था गछौँ । त्यसपछि फलफूलको नमूना ठाउँका रूपमा विकास गदैँ लैजान्छौँ”, उनले भने, “विकासका हिसाबले पिछडिएको तर परिर्वतनको सम्भावना प्रचुर भएको यस ठाउँलाई धार्मिकसँगै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ ।”

इतिहासकारका अनुसार श्री ३ चन्द्रशम्शेरको पालमा विसं १९६४ मा फौदसिंहले माईशीरमा मन्दिर स्थापना गरेका थिए । सन् १९७४ मा फौदसिंहका छोरा कीर्तिमान कर्णेलले आवतजावतमा समस्या भएकाले हाल मन्दिर रहेको स्थान माईस्थानमा मन्दिर निर्माण गर्न लगाउनुभएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

कमलमाई मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको स्थानीय कुमार मग्रातीले बताउनुभयो । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *