म्याग्दीमा भएन मतदान शिक्षा प्रभावकारी, ६ प्रतिशतसम्म मत बदर, कमजोरी कस्को?

 ग्लोबल टिभि      आइतवार, मंसिर ११, २०७९      0

मंसिर ११ –म्याग्दीमा मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ३ देखि ६ प्रतिशतसम्म मत बदर भएको छ। पाँच वर्षअघिको चुनावको तुलनामा बदर मतको दर घटेपनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ।

८६ हजार १२० जनामध्ये ५० हजार ३७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो। खसेको मत संख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गरेका कर्मचारी, कारागारका कैदीबन्दी, जेष्ठ नागरिक र सुरक्षाकर्मी लगायत अस्थायी मतदाताहरूको हो।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजारर ६९९ मत खसेकोमा ४७ हजार ६१४ सदर र दुई हजार ८५ अथवा चार दशमलव ३७ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए।

प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार ३७८ मत खसेकोमा ४७ हजार ३३२ मत सदर र दुई हजार ६४६ अथवा ५.५९ प्रतिशत बदर भएको छ।

सबैभन्दा धेरै प्रदेशसभाको समानुपातिकतर्फ ६.५८ प्रतिशत मत बदर भएको छ। ४९ हजार ४५० मत खसेकोमा ४६ हजार ४८० मत सदर र तीन हजार ६० मत बदर भएको छ। प्रदेशसभाको क्षेत्र (१) मा २८ हजार ७०८ मत खसेकोमा २७ हजार ७४९ सदर र ९५९ अथवा ३.४५ प्रतिशत बदर भएको छ।

प्रदेशसभा क्षेत्र (२) मा २१ हजार ९६ मत खसेकोमा २० हजार २६८ सदर र ७४८ अथवा ३०६९ प्रतिशत बदर भएको छ। एउटै मतपत्रमा धेरै चिन्हमा छाप लगाएको, कुनै मतपत्रमा छापनै नलगाई बाकसमा खसालेका, दुई वटा चिन्हको बिचमा छाप लगाएको, चिन्हको घेरा भन्दा बाहिर संकेत गरेर धेरै मत बदर भएको छ।

प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न थिएन्। चारवटा मतपत्रमा छाप लगाउनुपर्नेमा केहीले दोस्रो, तेस्रो र चौथो मतपत्रमा संकेत गर्नुको साथै पहिलो मतपत्रमै चार ठाउँमा संकेत गरेका थिए। प्रत्यक्ष तर्फको तुलनामा समानुपातिकको मतपत्रमा संकेत गर्दा मतदाताले बिगारेका गणनामा संलग्न कर्मचारीहरूले बताएका छन्।

मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरूले चुनावी तालमेल गरेपनि मतदाताहरूलाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेले मत बदर बताइएको छ।

प्रत्यक्षतर्फको प्रतिनिधिसभाको मतदान अधिकृतले हस्ताक्षर नगरेको १२९ वटा मतपत्र भेटिएको थियो। तीनवटा मतदान केन्द्र रहेको मालिका गाउँपालिका–५ देविस्थानको १०४ र रघुगंगा गाउँपालिका–५ झिँको एक वटा मतदान केन्द्रको २५ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर थिएन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *